कुलमानको कार्यकाल थपिएको खबर हल्ला मात्रः मन्त्रीहरु नै छक्क

काठमाण्डौ – मङ्गलबार बेलुका पाँच बजेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप भएको बारे निकै हल्ला भयो । मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङको कार्यकाल चार वर्ष थपेको भन्दै ट्विटर र फेसबुकमा बधाई दिनेको ओइरो लाग्यो । प्रतिष्ठित व्यक्तिहरुले पनि कुलमानलाई बधाई दिइरहेका थिए । केही सञ्चारमाध्यमले पनि घिसिङको कार्यकाल थप भनेर समाचार लेखे ।

तर कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा दोहोर्‍याउनेबारे मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै पुगेको थिएन । कुलमानको विषय मन्त्रिपरिषद्को आजको एजेन्डा नै थिएन । २९ गते कार्यकाल सकिने कुलमानको बारेमा मन्त्रिपरिषदमा प्रस्ताव नै नजाँदै समय थपिएको खबर भाइरल भएपछि मन्त्रीहरु नै छक्क परेका छन् ।

‘लिखित रुपमा आज प्रस्ताव नै आएको छैन, प्रधानमन्त्रीबाट सिधै प्रस्ताव आएमा निर्णय हुन सक्थ्यो, उहाँको कार्यकाल अझै बाँकी छ तर विभागीय मन्त्रीले नै प्रस्ताव नल्याउनु भएकाले सिधै निर्णयको सम्भावना भएन’, एक मन्त्रीले भने ।

कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ । भदौ २१ गतेअघि नै कार्यकाल सकिन लागेका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाको निर्णय नगरेको सरकार २९ गते कार्यकाल सकिने घिसिङको कार्यकाल थप्ने हतारोमा छैन । हरेक हप्ता दुई वटा मन्त्रिपरिषद्का बैठक बस्छन्, यस हिसाबले २९ गतेसम्म ६ वटा मन्त्रिपरषद्का नियमित बैठक नै बस्ने छन् । ६ वटा बैठकअघि नै कुलमानको बारेमा नियुक्ति गर्न सरकारलाई कुनै हतारो नै देखिन्न ।

कसरी फैलियो हल्ला ?

यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेका घिसिङलाई फेरि प्राधिकरणमै नेतृत्व दिनुपर्छ भन्ने आवाज बढ्दै गएको छ । सामाजिक सञ्जालमा पनि चर्को माग छ । हरिवंश आचार्य, मनोज गजुरेल, करिश्मा मानन्धरलगायतका कलाकारले सामाजिक सञ्जालबाटै कुलमानको कार्यकाल थप्न माग गरिरहेका थिए । मङ्गलबार दिउँसो यस्ता खबरले पनि निकै स्थान पाए ।

तर कुलमानलाई मन्त्रिपरिषद्ले दोहोर्‍याएको खबरको सुरु गरेका थिए हास्य कलाकार दीपकराज गिरीले । उनले फेसबुकमा लेखेका थिए, ‘आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आसयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन।’

दीपकराजको यो स्टाटस फैलिन समय लागेन । फेसबुकदेखि ट्विटरसम्म उनकै स्टाटस शेयर र स्क्रिनशर्टसहित फैलाउने काम भयो । दीपकराजकै स्टाटसलाई आधार मानेर सामाजिक सञ्जालमा कुलमानको नियुक्ति दोहोरिएको विषय भाइरल भयो । उनको स्टाटसमा ११ हजारभन्दा धेरैले लाइक गरेका छन्, ११ सय जनाको कमेन्ट रहेको छ ।

यस्तै ट्विटरमा कुलमान घिसिङको नक्कली ट्वीट ह्याण्डलबाट पनि यो विषय भाइरल बन्यो । नेकपाको विद्यार्थी सङ्गठनका सहसंयोजक रञ्जित तामाङले नै कुलमानको नक्कली ह्याण्डलबाट गरिएको ट्वीट रिट्वीट गरेर बधाई दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार