आयो खुशीको खबरः १२० दिनपछि लकडाउन हट्यो

काठमाण्डौ – गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हट्ेको छ ।

कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको अर्थ एवं, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारले पटक पटक लकडाउनको अवधि थप्दै आएको थियो ।

आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताउनुभयो । लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो ।

सरकारले मङ्गलबार रातिदेखि लकडाउन खुला गर्ने निर्णय गरे पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थल, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लर, स्विमिङ पुललगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उहाँले बताउनुभयो । यद्यपि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उहाँले बताउनुभयो ।

सरकारले साउन १५ गतेबाट होटल, रेस्टुरेन्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । तर सेमिनार र भेला भने गर्न नपाइने उहाँले बताउनुभयो ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवत जावत बन्द गरिएको उहाँले बताउनुभएको छ । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा बिन्दुबाट आउन पाइने तर लुकीछिपी आएको खण्डमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार