नेपाल हेपिन तयार छैनः प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बुधबार विनियोजन विधेयक( २०७७ अन्तर्गत छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने क्रममा सांसद प्रेम सुवालले मुख्यमन्त्री योगीले नेपालले सीमा निर्धारण गर्दा परिणामबारे सोच्नुपर्ने र तिब्बतले गरेको गल्ती सम्झनुपर्ने धम्की किन दिए भनी स्पष्टीकरण माग गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यदि त्यसरी बोलेको हो भने त्यो जायज होइन । नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित होइन । उहाँ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइन । तैपनि मुख्यमन्त्रीका हिसाबले पनि बोलेको भए त्यो नबोलिनु पर्थ्यो ।’

उहाँले त्यसरी बोलेको भए त्यो आलोच्य र निन्दनीय विषय हो । त्यस्तो कुरालाई हामी नेपालमाथि अवहेलनाको विषयमा बुझ्छौँ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल हेपिन तयार छैन र हेपिन मान्दैन ।’

बैठकमा प्रधानमन्त्रीले विनियोजन विधेयक(२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार