गण्डकी प्रदेशका सबै जिल्लामा रङ्गशाला बनाइने

कास्की – सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा एक – एक वटा रङ्गशाला बनाउने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेश सभामा सरकारको आगामी वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रङ्गशाला निर्माण गर्ने नीति लिइने जानकारी दिनुभयो ।

सरकारले प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ । आउँदो फागुनमा प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय यसअघि नै गरिएको छ ।

यसअघि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७र७८ को बजेटका सिद्धान्त तथा प्राथमिकता सदनमा प्रस्तुत गर्दै आउँदो वर्ष पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिने बताउनुभएको थियो । सरकारले पालिकासँगको सहकार्यमा एक पालिका एक खेलकुद मैदान कार्यक्रमलाई आवश्यकता अनुसार निरन्तरता दिइने जनाएको छ ।

नीति तथा कार्यक्रममा प्रदेशमा खेलकुदको संस्थागत विकास गर्न आवश्यक कानुन तर्जुमा गर्ने, नेपाल सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रङ्गशाला, उच्च हवाई खेलकुद तालिम केन्द्र र क्रिकेट रङ्गशालालगायतका खेलकुद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिने उल्लेख छ ।

सरकारले चालू वर्षमा पालिकासँगको सहकार्यमा २२ गाउँपालिका र पाँच नगरपालिकामा खेल मैदान र स्थानीयस्तरको रङ्गशाला निर्माण कार्य अघि बढाइएको जनाएको छ ।

नेपालमा आयोजना गरिएको १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गतका आठ वटा खेल प्रदेश राजधानी पोखरामा सफलतापूर्वक सम्पन्न भएको र त्यो प्रतियोगितामा पदक विजेता यस प्रदेशका खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्रोतः उज्यालो अनलाईन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार